
नेपाली कम्युनिष्ट पार्टी जेनजी युवाको अभिभावक हो : प्रचण्ड
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र नयाँ राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने जेनजी पुस्ताको वास्तविक अभिभावक नेकपा नै भएको दाबी गरेका छन्।
बुधबार राजधानीमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले आसन्न महाधिवेशन र निर्वाचनमा जेनजी पुस्तालाई सशक्त प्रतिनिधित्व गराइने बताएका छन्। उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो। उनीहरूले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको माग हामीले पहिलोपटक समर्थन गरेका थियौं। महाधिवेशनमा जेनजी युवाको सशक्त उपस्थिति र उम्मेदवारी सुनिश्चित गर्छौं।”
उनले नेकपा र मातृभूमि जागरण अभियानबीचको एकतालाई क्रान्तिकारी ध्रुवीकरणको सुरुवात बताउँदै आगामी निर्वाचनमा नेकपा नै पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे। “यो ऐतिहासिक एकता हो। अब नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन,” प्रचण्डले जोड दिए।
उनले भीम रावललगायत नेताहरूलाई नेकपामा स्वागत गर्दै पार्टीमा अझै धेरै इमानदार वामपन्थी नेताहरू आवद्ध हुने दाबी गरे।



कागजपत्र |
