यी हुन् नेपालका हालसम्मका प्रहरी महानिरिक्षकहरू


काठमाडौं – हरेक नेपालीको लागि सरकारको उपस्थितिको सबैभन्दा बलियो माध्यम भनेको नेपाल प्रहरी नै हो । नेपालको हरेक तह र स्थानमा प्रत्यक्ष रुपमा सरकारको उपस्थिति जनाउने प्रहरी अहिले स्थापनाको ७० वर्ष पूरा भइसकेको छ ।

वि.सं २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा औपचारिक स्थापना भएको नेपाल प्रहरीमा अहिलेसम्म ३२ जनाले कमाण्ड सम्हालिसकेका छन् भने ३३ औं कमाण्डरका रुपमा सोमबार मात्रै दानबहादुर कार्की नियुक्त भएका छन् ।

यतिबेला नेपाल प्रहरीमा ८० हजार कर्मचारीहरु कार्यरत छन् । उनीहरुको सबैभन्दा पहिले संगठनप्रति उत्तरदायी हुन्छन् भने आईजीपी नै उनीहरुका पहिलो अनि सर्वाधिकारसम्पन्न अभिभावक हुन् ।

प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षक (आईजी)ले लिने गर्दछन् ।

अहिलेसम्म क-कसले गरे त नेपाल प्रहरीको कमाण्ड ?

१. तोरण शमशेर ज.ब.रा
नेपाल प्रहरीको पहिलो आईजी हुन् तोरण शमशेर ज.ब.रा. । प्रधान कार्यालयको स्थापनापछि ज.ब.रा.लाई २००७ चैतमा आईजी नियुक्त गरिएको थियो । पहिलो आईजीको रुपमा कार्यभार सम्हालेका ज.ब.रा. ३ दिनभित्रै षड्यन्त्रको शिकार बने र पदच्यूत भए ।

२. नर शमशेर जबरा
तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए । उनले २ वर्ष अर्थात २००७ चैतदेखि २०१० मङ्सिरसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हाले ।

३. ज्ञानबहादुर याक्थुम्बा
नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् याक्थुम्बा । उनले प्रहरीमा भर्ना सेनाको मेजर पदबाट गरेका थिए र पछि नर शमशेर जबरापश्चात २०१० माघ २८ मा उनी महानिरीक्षक भएका थिए । २०१० मंसिरदेखि २०१२ भदौसम्म महानिरीक्षकको रुपमा काम गरे । महानिरीक्षकबाट अवकाश पाएपछि उनी बर्माका लागि नेपाली राजदूत भए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा पनि स्थापित थिए ।

४. गोपाल शमशेर ज.ब.रा.
गोपाल शमशेर ज.ब.रा नेपाल प्रहरीको चौथौं महानिरीक्षक हुन् । २०१२ भदौदेखि २०१३ साउनसम्म उनले महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी राणा विरोधी अभियानमा समेत लागेका थिए ।

५. पूर्ण सिंह खवास
खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका थिए ।

६. ढुण्डिराज शर्मा
छैटौं महानिरीक्षकको रुपमा ढुण्डिराज शर्माले जिम्मेवारी सम्हालेका थिए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए ।

७. पहल सिंह लामा
नेपाल प्रहरीको आठौ महानिरीक्षक हुन् लामा । नेपाल प्रहरी क्लबको स्थपना गर्न उनको योगदान उल्लेखिनेय छ । महानिरीक्षकबाट अवकाश पाएपछि उनी कोलकाताको क्न्सुलर जनरलको पदमा थिए ।

उनी २०१८ पुसदेखि २०२३ असारसम्म महानिरीक्षक भए ।

८. रोम बहादुर थापा
थापा आठौं महानिरीक्षक हुन् । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति समेत हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए ।

९. खड्गजित बराल
बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक हुन् । संगठनमा सबैले मन पराउने नेतृत्वमा पर्छन् बराल । इमान्दार स्वभावका बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेतृत्वमा रहेर काम गरे । प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डोचाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए ।

बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद समेत भएका थिए । सांसदको रूपमा सेवा समाप्त गरेपछि उनी युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए ।

१०. दुर्लभ कुमार थापा
नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक थापाले २०३५ सालमा कार्यभार सम्हालेका हुन् । उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् ।

सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए । उनले २०३५ साउनदेखि २०३९ जेठसम्म कार्यभार सम्हालेका थिए ।

११. दिलबहादुर लामा
भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए । ००७ सालमा स्थापना भएको प्रहरीमा ११ औँ संगठन प्रमुखको रूपमा ०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए ।

उनकै कार्यकालमा ०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।

१२. हेम बहादुर सिंह
हेमबहादुर सिंह नेपाल प्रहरीको बाह्रौ महानिरीक्षक हुन् । उनलाई चिन्नेहरुले खाकी पोशाक लगाउने अधिकृतको रुपमा चिन्थे । उनलाई ५७ औँ प्रहरी दिवसका दिन सम्मान गरिएको थियो । उनले चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म नेतृत्वको रुपमा कार्यभार सम्हालेका थिए ।

१३. रत्नशमशेर ज.ब.रा
उनी नेपाल प्रहरीका १३ औं महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो ।

१४. मोतिलाल बोहरा
३० वर्षे सेवाअवधि लागू भएपछि राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो । बोहरा १४ औं महानिरीक्षक हुन् । २०४९ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म खाएर अवकाश पाएका थिए ।

१५. धुव्रबहादुर प्रधान
प्रधान १५ औं महानिरीक्षक हुन् । २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका प्रधान हाल राप्रपाबाट सांसद समेत छन् ।

१६. अच्युतकृष्ण खरेल
खरेल नेपालका १६ औं महानिरीक्षक हुन् । २००३ फागुन २८ गते काभ्रेमा जन्मेका खरेल २०२७ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । निरीक्षकमा प्रवेश गरेका उनले ३१ वर्षको अन्तरालमा महानिरीक्षकसम्मको जिम्मेवारी बहन गरेका थिए । उनी माओवादी जनयुद्धको बेलामा प्रहरी महानिरीक्षक नियुक्त भएका हुन् । खरेलले २०५३ फागुनदेखि २०५३ चैत र २०५४ मंसिरदेखि २०५७ असोजसम्म नेतृत्वको जिम्मेवारी वहन गरेका थिए ।

१७. प्रदीप शमशेर जबरा
जबरा नेपाल प्रहरीको १७ औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका जबरा संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्थे ।

१८. श्यामभक्त थापा
श्याम भक्त थापा नेपाल प्रहरीका १८ औं महानिरीक्षक हुन् । २०५९ सालमा उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । २०५९ पुसदेखि २०६३ भदौसम्म उनले नेतृत्व गरेका थिए ।

१९. ओम विक्रम राणा
ओम विक्रम राणा २०६३ सालमा प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले २ वर्ष अर्थात २०६५ भदौसम्म महानिरीक्षकको भूमिकामा रहेर काम गरेका थिए ।

उनलाई विशेष अदालतले २०६८ फागुन १ मा संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको सुडान घोटालामा भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

२०. हेमबहादुर गुरूङ
गुरूङ नेपाल प्रहरीको २० औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिनासम्म संगठनको नेतृत्व गरेका थिए । उनी पनि सुडान घोटालामा मुछिए ।

२१. रमेश चन्द ठकुरी
रमेश चन्द ठकुरी २१ औं प्रहरी महानिरीक्षक हुन् । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका चन्दसमेत सुडान घोटालामा मुछिएका अधिकृत हुन् ।

२२. रविन्द्र प्रताप शाह
२२ औं प्रहरी महानिरीक्षक हुन् रविन्द्र प्रताप शाह । २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका शाह धादिङका हुन् ।

२०३९ साल भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरी क्रमैसँग पदोन्नती हुदै २०६५ साल असोज २ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए उनी ।

सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित शाह प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । आवश्यक सबै तालिमहरू प्राप्त गर्नुका साथै उनी विभिन्न विभुषणबाट सम्मानित भएका छन् ।

२३. कुवेर सिंह राना
कुवेर सिंह राना नेपाल प्रहरीका २३ औं महानिरीक्षक हुन् । उनलाई तत्कालिन सरकारले २०६९ भदौ २८ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । उनी २०४० कात्तिक ३० गतेबाट प्रहरी निरीक्षकको रुपमा सेवामा प्रवेश गरेका थिए । उनले २०७० कात्तिक ३० गतेसम्म प्रहरीको नेतृत्व गरेका थिए ।

२४. उपेन्द्र कान्त अर्याल
उपेन्द्र कान्त अर्याल नेपाल प्रहरीका २४ औं आईजीपी हुन् । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुखको पदमा नियुक्त भएका अर्याल संगठनमा कडा र हक्की स्वभावका अधिकृतको रुपमा चिनिन्थे ।

२५. प्रकाश अर्याल
२५ औं आईजी भएका प्रकाश अर्याललाई सरकारले २०७३ चैत २८ मा प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सुरुमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्यालको भाग्य चम्केको थियो । अर्यालले २०७४ चैत २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाएका थिए ।

२६. सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई २०७४ चैत २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

२०७६ माघ २७ गतेसम्म प्रहरीको नेतृत्वमा रहेका खनाल अवकाश पाएको केही समयपछि अर्थात २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गरेका थिए । उनले गत निर्वाचनमा काठमाडौं ६ बाट उम्मेद्वारी समेत दिएका थिए। तर, पराजित भए ।

२७. ठाकुर प्रसाद ज्ञवाली
ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

सर्वेन्द्र खनालले अवकाश पाएपछि माघ २९ मा ज्ञवालीले प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । उनले २०७६ माघ २८देखि २०७७ असार २३ गतेसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए ।

२८. शैलश थापा क्षेत्री
२८ औँ प्रहरी महानिरीक्षक हुन् थापा । उनलाई २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो । उनले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गरेका थिए ।

२९. धीरज प्रताप सिंह
२०७९ वैशाख १७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका धीरज प्रताप सिंह २९ औं प्रहरी प्रमुख हुन् । २०७९ चैत १० गतेसम्म नेतृत्वमा रहेका सिंह संगठनका अब्बल अधिकृतको पहिचान बनाएका थिए ।

३०. वसन्त बहादुर कुँवर
२०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट ३० औं प्रहरी महानिरीक्षक नियुक्त भएका कुँवर संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनको कार्यकालमा थुप्रै कामहरु समेत भएको छ । जसले गर्दा पछिल्लो समय प्रहरी संगठनको गरिमा समेत बढेको आभाष लिन्छन् आईजी कुँवर ।

१.  दीपक थापा

२०८१ साल चैत ५ गते नेपाल प्रहरीको ३१ औं कमाण्डर प्रहरी महानिरिक्षक (आईजी)मा नियुक्त भएका थिए । २०५० साल मंसिर १० गते इन्स्पेक्टरबाट प्रवेश गरेका थापाले यही २०८२ को भदौ १८ गतेसम्म संगठनको कमाण्ड गरेका थिए ।

३२. चन्द्रकुबेर खापुङ

दीपक थापाको अवकाशपछि छोटो समयका लागि प्रहरीको कमाण्ड सम्हालेका चन्द्रकुबेर खापुङले सुरुवातमै ठूलो घटनाको सामना गर्नुप¥यो । १८ गते नियुक्त भएका खापुङले त्यसको ५ दिनमै जेनजी आन्दोलनको मार खेप्नुपर्यो । जसले गर्दा सर्वाधिक छोटोसमयमा सर्वाधिक जिम्मेवार र उत्तरदायीयुक्त जिम्मेवारी पूरा गर्दै असोज २७ गते अवकाशमा जाँदैछन् । उनले ७१ दिन प्रहरीको कमाण्ड सम्हाल्दा ७० वर्षको इतिहासमा नेपाल प्रहरीले सबैभन्दा बढी भौतिक क्षति ब्यहोर्नुपर्यो ।

३३. दानबहादुर कार्की

दानबहादुर कार्की नेपाल प्रहरीको असोज २७ गतेपछिका कमाण्डर हुन् । उनलाई सोमबारको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो ।  २०५४ साल चैत १८ गते प्रहरी निरिक्षक (इन्स्पेक्टर)का रुपमा संगठन प्रवेश गरेका कार्की हाल सरकारले घोषणा गरेको आम निर्वाचनको संघारमा संगठनको नेतृत्व सम्हाल्न आइपुगेका छन् । उनले संगठनलाई करिब ३० महिना कमाण्ड गर्नेछन् । अन्यकुरा यथावत् रहेमा उनी २०८४ सालको चैत १८ गते अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया