जिल्ला सभापतिहरूसँग शेखर, प्रस्तावित महाधिवेशन कार्यतालिका बारे छलफल


काठमाडौं – नेपाली कांग्रेसको इतर समूहका नेता डा.शेखर कोइरालाले काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग पार्टीभित्र देखिएको विवादबारे छलफल गरेका छन् ।

आफ्नो सम्पर्क कार्यालय विशाल नगरमा नेता कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका पार्टीको १५ औँ महाधिवेशनबारे दुई कार्यतालिका र त्यसको मिलनबिन्दु के हुनसक्छ भन्नेबारे छलफल गरेका हुन् ।

गत मंगलबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

ती कार्यतालिकाबारे केन्द्रीय समितिमा बहस भइरहेका बेला नेता डा.कोइरालाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

छलफलमा केन्द्रीय सदस्यहरू प्रा.डा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए । त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको उज्ज्वल बरालसहित उपस्थित थिए ।

भेलामा गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्वसभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए ।

प्रतिक्रिया