
काठमान्डु गोर्खाजमा भित्रिए सन्नी पटेल
काठमाडौं- नेपाली क्रिकेटमा निकै लोकप्रिय छबि बनाएका अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ।
यो सँगैं काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरेको छ।
काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्पसनलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ। इरसमस बाहेक अन्य सवैले पहिलो पटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन्।
पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन्। उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए। डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए।
भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन्। अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सोक्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए। च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए। उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ।



कागजपत्र |
