
बिहान ११ बजेको श्रीएयरको फ्लाइट साँझ ६ बजे उडेपछि…
काठमाडौं- काठमाडौंबाट धनगढी जाने बिहान ११ बजेको श्री एयरलाइन्सको उडान साँझ ६ बजे मात्रै उडेको घटनापछि यात्रु सागर ताम्राकारले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पाेखेका छन्।
ताम्राकारले सामाजिक सञ्जालमा लेख्दै आफूले बिहान ११ बजेको फ्लाइटको टिकट लिए पनि श्री एयरलाइन्सको ‘सिस्टम’ ले यात्रुलाई अत्यधिक दुःख दिएको बताएका छन्। उनका अनुसार बिहान खानासमेत नखाई ८:३० बजे घरबाट उनी एयरपोर्ट पुगेका थिए, तर बिहान ११ बजेको उडान साँझ ६ बजे मात्र उडेको हो।

उनले लेखेका छन्, “कहिले परिवर्तन होला हाम्रो देशको सिस्टम ? बिहान ८:३० बजे घरबाट हिँडेँ, ११ बजे एयरपोर्ट पुगेँ। तर दुई घण्टा लाइनमा उभिएर पनि बोर्डिङ पास पाइनँ। वृद्ध आमा-बुवा, बालबालिका सबै लाइनमा थिए, तर कसैले जानकारी पनि दिएन।”
ताम्राकारका अनुसार श्री एयरलाइन्सको डेस्कमा यात्रुहरूको अत्यधिक भीड थियो र ११ बजेका यात्रुलाई ३ बजेपछि मात्र प्रक्रिया खुल्ने भन्दै पर्खाइमा राखिएको थियो। उनले व्यवस्थापनप्रति रोष प्रकट गर्दै भनेका छन्, “हामी युवा छौँ, तर ती वृद्ध आमा-बुवा र बालबालिकाहरू कहाँ जाने ? श्री एयरलाइन्सको यस्तो नियम कहिले सुधारिन्छ ?”

अन्ततः साँझ ६ बजे फ्लाइट उडेपछि ताम्राकारले अर्को पोस्ट गर्दै लेखे, “आजबाट श्री एयरलाइन्सको विमान नचढ्ने बाचाका साथ लागियो धनगढीतिर। बिहान ११ बजेको फ्लाइट साँझ ६ बजे उडेपछि श्री एयरलाइन्सले सुध्रिनु आवश्यक छ।”



कागजपत्र |
