सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाली ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गर्‍यो


काठमाडौं- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाली ब्याट्सम्यान जोस ब्राउनलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।

ब्राउनले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। उनले टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका छन्। ब्राउनको टी–२०मा सर्वाधिक व्यक्तिगत स्कोर १४० रन रहेको छ, जुन दुर्लभ उपलब्धि मानिन्छ।

‘एनपीएल खेल्न आउन पाउँदा निकै उत्साहित छु। नेपाली समर्थकलाई छिट्टै भेट्ने छु,’ ब्राउनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाए।

सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो अलग परिचय बनाएको र नेपालमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

एनपीएलको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।

प्रतिक्रिया