
शान्ति सेनाबाट फर्किएका व्यक्तिमा मलेरिया, तनहुँमा दोस्रो केस
तनहुँ- तनहुँमा दोस्रो पटक मलेरियाको संक्रमण पुष्टि भएको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय एक पुरुषमा मलेरियाको संक्रमण देखिएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलका अनुसार, शान्ति सेना गएर फर्किएका ती व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा र रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूले आइतबार समुदायस्तरमा पुगेर रोगको सक्रिय खोज तथा निगरानी अभियान सञ्चालन गरेका छन्। कँडेलले भने, “हाल उहाँ औषधि सेवनपछि पूर्ण रूपमा स्वास्थ्य लाभ गर्नुभएको छ।”
यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो संक्रमण पाइएको थियो।
स्वास्थ्यकर्मीहरूका अनुसार, मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसका प्रमुख लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, अत्यधिक थकान र धेरै पसिना आउने जस्ता समस्या देखिन्छन्।



कागजपत्र |
