जसको बलात्कारको आरोपमा जेल गए, उसैसँग बिहे गरेर फर्किए


राजविराज-  सप्तरीको राजविराजमा फरार कैदी बिहे गरेर फिर्ता भएको अद्भुत घटना बाहिरिएकाे छ। जबरजस्ती करणीको आरोपमा १२ वर्षको जेल सजाय पाएका २४ वर्षीय शत्रुघन मुखिया जेलबाट भागेर पीडित भनिएकी किशोरीसँग विवाह गरेर फेरि आफैं जेल फर्किएका हुन्।

जेनजी आन्दोलनपछि महादेवा गाउँपालिका–४ का शत्रुघन गत भदौ २५ गते राजविराज कारागारबाट फरार भएका थिए। त्यसको भोलिपल्ट नै उनले १९ वर्षीया ज्योति मुखियासँग कमलामाई मन्दिरमा गाउँलेको रोहबरमा विवाह गरे। कारागारले २० असोजभित्र फर्किन चेतावनी दिएपछि उनी स्वेच्छाले आत्मसमर्पण गर्न आए, तर यसपटक ‘विवाहित’को हैसियतमा।

ज्योति अहिले गर्भवती छिन्। उनी भन्छिन्, “गाउँले र बुबाआमाको दबाबमा कागजमा सहि गरेकी थिएँ, तर हामी प्रेम सम्बन्धमा थियौं।” उनका अनुसार ‘बलात्कार’ होइन, पारस्परिक सम्बन्ध थियो, जसलाई अब समाज र अदालतले स्वीकारोक्ति दिनुपर्ने बेला आएको छ।

ज्योति भन्छिन्, “सहमतिमा आधारित सम्बन्ध थियो। गाउँले र अभिभावकको दबाबमा प्रहरीमा उजुरी दिएकी थिएँ। तर अहिले शत्रुघन १२ वर्ष जेल सजाय भोग्दै हुनुहुन्छ, जसले हाम्रो जीवनमा ठूलो चुनौती सिर्जना गरेको छ।” ज्योति न्यायको माग गर्दै सबैमा सहयोगको अपील गरेकी छिन्।

जेलर गंगालाल योगीका अनुसार शत्रुघनले आत्मसमर्पण गरेर जिम्मेवारी देखाएका छन्। “उनी १२ वर्षको सजाय भुक्तान गरिरहेका छन्, अझै करिब १० वर्ष बाँकी छ,” उनले बताए।

कानूनी जानकार सतिष कुमार दत्तका अनुसार यस्तो घटना कानूनी रूपमा जटिल भए पनि सामाजिक यथार्थले अदालतलाई पुनर्विचार गर्न प्रेरित गर्न सक्छ। “जब पीडित पक्ष र समाजले विवाह स्वीकार गर्छ, कानूनी सन्तुलन र सामाजिक न्यायबीच पुनर्विचारको ठाउँ बाँकी रहन्छ,” उनले भने।

प्रतिक्रिया