
देशभर नर्सहरूको आन्दोलन जारी
काठमाडौं- सरकारी ऐनले व्यवस्था गरेअनुसारको पारिश्रमिक, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने मागसहित देशभरका नर्सहरूको आन्दोलन थप तीव्र बनेको छ।
नेपाल नर्सिङ संघको नेतृत्वमा सुरु भएको यो आन्दोलन अन्तर्गत शुक्रबार पनि नर्सहरूले आफ्नो कार्यस्थलमा बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन्। आन्दोलनरत नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले समेत ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन्।
संघले आह्वान गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत नर्सहरूले कात्तिक १२ गतेदेखि १८ गतेसम्म बिहान दुई घण्टा सेवा बन्द गर्दै विरोध जनाइरहेका छन्। नर्सिङ संघका अनुसार, कात्तिक १८ गते स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनको आधारमा आगामी चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिनेछ।
संघका प्रतिनिधिहरूका अनुसार, जीविकोपार्जन गर्न पनि मुस्किल हुने गरी न्यून तलबमा नर्सहरूलाई काम लगाइएको छ। यसले लामो समयदेखि सेवा दिइरहेका दक्ष नर्सिङ जनशक्तिलाई अन्याय भएको भन्दै संघले पटक–पटक मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो। तर, माग सम्बोधन नभएपछि नर्सहरू निजी, सामुदायिक, सरकारी र गैरसरकारी अस्पतालहरूमा एकैसाथ आन्दोलनमा उत्रिएका हुन्।
संघले कात्तिक २ गते १५ बुँदे माग सार्वजनिक गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। पहिलो चरणमा नर्सहरूले कात्तिक ४ देखि ११ गतेसम्म कालो पट्टि बाँधेर काम गरेर विरोध जनाएका थिए। त्यसपछि दोस्रो चरणमा पुग्दा उनीहरूले सेवा बन्द गर्दै आन्दोलनलाई थप बलियो बनाएका छन्।
नर्सिङ संघका १५ बुँदे प्रमुख मागहरू
-निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूलाई नेपाल सरकार सरह न्यूनतम पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउनुपर्ने,
-दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने,
-रात्रीकालीन सेवा, सार्वजनिक बिदा तथा चाडपर्वमा काम गरेबापत एक दिन बराबरको तलब र १०० प्रतिशत जोखिम भत्ता दिनुपर्ने,
-आवश्यकताअनुसार दरबन्दी सृजना र बढुवाको व्यवस्था गर्नुपर्ने,
-निजी विद्यालयमा पनि स्थायी नर्सको दरबन्दी राख्नुपर्ने,
-ज्यालादारीमा नचलाउने, तलब भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने र
-श्रमिकको रूपमा हेरिएको नर्सिङ जनशक्तिलाई समान हैसियतमा सम्मानजनक रूपमा व्यवस्थापन गर्नुपर्ने लगायतका माग समावेश छन्।



कागजपत्र |
