मनाङमा हिउँको चपेटामा फसेका ७५० जनाको उद्धार


काठमाडौं-  सोमबार रातिदेखि परेको अविरल हिउँका कारण मनाङलगायतका हिमाली क्षेत्रमा फसेका नागरिक तथा पर्यटकहरूको संयुक्त उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन्।

मनाङको तिलिचो बेस क्याम्प क्षेत्रमा फसेका करिब ७५० जनालाई डिस्याङ गाउँपालिका–९ खाङसारसम्म सुरक्षितरूपमा झारिएको छ। त्यस्तै, करिब ५० जनालाई बेस क्याम्पकै सुरक्षित स्थानमा राखिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

हिउँका कारण आवतजावत बन्द हुनुका साथै खाद्यान्न र बसोबास सुविधा अभाव भएपछि केहीलाई खाङसारमा राखिएको तथा केहीलाई सुरक्षित ठाउँतर्फ फर्कने व्यवस्था मिलाइएको अधिकारीहरूले बताए।

यसैबीच, काठमाडौँ महानगरपालिका–३१ स्थायी घर भएका ४५ वर्षीय विरेन्द्र रसाइली तिलिचो ताल भ्रमणबाट फर्कने क्रममा उच्च स्थानमा लाग्ने ‘लेक’का कारण बेहोस भएपछि उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयका सुरक्षाकर्मीहरूले स्टेचरमार्फत खाङसार हुँदै उनलाई हुम्डे स्वास्थ्य चौकीसम्म पुर्‍याएका हुन्।

मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएपछि हिमाली क्षेत्रमा हुने हिमपात तथा विपद्का घटनामा उद्धार कार्य अघि भन्दा धेरै सहज र प्रभावकारी भएको अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया