बिहीबारदेखि मधेश, बागमती र कोशीमा भारी वर्षा र हिमपातको चेतावनी


काठमाडौं-  कात्तिक १३ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढी र हिमपातको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरी उत्तर–उत्तर पश्चिमतर्फ सर्दै नेपालको मध्य भू–भाग नजिक आउँदा बागमती, मधेश र कोशी प्रदेशमा मौसम प्रभावित हुने अनुमान गरिएको छ।

विभागका अनुसार, मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ भने बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्ने देखिएको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

उक्त प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ। बागमती, कमला, कोशी र कन्काई नदी तथा यीका सहायक स–साना नदीनालाहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने विभागले चेतावनी दिएको छ।

विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीमा आकस्मिक बहावको उच्च जोखिम छ।

विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय, र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै नियमित पूर्वसूचना र अपडेटको पालना गर्न निर्देशन दिएको छ। वर्षा र हिमपातको कारण पहिरो, सडक तथा हवाई यातायातमा प्रभाव र कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया