जापानमा नेपाली विद्यार्थीको हत्या प्रकरणमा ३२ वर्षीया युवती पक्राउ


जापान- जापानको चिबा प्रिफेचरअन्तर्गत फुनाबाशी शहरस्थित एक होटलमा मृत फेला परेका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या आरोपमा एक जापानी महिलालाई पक्राउ गरिएको छ। पक्राउ परेकी ३२ वर्षीया आसाका मामी चिबा प्रान्तकै बसोबास गर्ने भएकी जानकारी चिबा प्रहरीले दिएको छ।

स्थानीय सञ्चारमाध्यम र प्रहरी स्रोतका अनुसार, छन्त्याललाई अक्टोबर ५ तारिखमा चक्कु प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलबाट संकलन गरिएको प्रमाण र साक्ष्यको आधारमा मामीलाई अक्टोबर २८ मा पक्राउ गरिएको हो।

प्रहरीले पीडित र आरोपीबीचको सम्बन्ध, घटनाको पृष्ठभूमि र सम्भावित हेतुबारे थप अनुसन्धान जारी राखेको छ। फोरेन्सिक परीक्षण, बयान र प्रमाण विश्लेषणपछि कानुनी प्रक्रिया अघि बढाइ आरोपपत्र दर्ता गरिने जनाइएको छ।

म्याग्दी  घर भई पोखरामा बस्दै आएका छन्त्यालको पारिवारिक विवरणबारे स्थानीय प्रशासन र कन्सुलर संयन्त्रमार्फत थप तथ्य संकलन भइरहेको बताइएको छ। यससँगै, जापानस्थित नेपाली समुदाय तथा सरोकारवाला संस्थाहरूसँग समन्वय गरी आवश्यक कन्सुलर सहायता उपलब्ध गराइने अपेक्षा रहेको छ।

 

प्रतिक्रिया