
जेनजी आन्दोलनमा तोडफोड गर्ने पूर्वसैनिक: नक्कली लाइसेन्स प्रकरणमा भएका थिए बर्खास्त
काठमाडौं- भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा राजधानीमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक युवक पूर्वसैनिक भएको खुलासा भएको छ।
प्रहरीको विशेष टोलीले सोमबार मीनभवन क्षेत्रबाट कञ्चनपुर, बेलौरी नगरपालिका–१ घर भई काठमाडौंको धापासीमा बस्दै आएका २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको हो।
उनले गौशाला प्रहरी वृत्तमा आगजनी र तोडफोड, बानेश्वरस्थित ग्लोबल कलेजमा प्रवेश गरी लुटपाट गरेको भिडियो प्रमाणमा देखिएपछि पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले बताए।
शाहीले आन्दोलनका बेला प्रहरीको मोटरसाइकल, राइट कन्ट्रोल गियर, ग्लोबल कलेजका ट्रफी, गाडीको ड्यासबोर्डमा राखिने गणेशको मूर्ति, र डीएसएलआर क्यामेरा समेत लुटेको प्रहरीले दाबी गरेको छ। यी सामग्रीमध्ये केही प्रहरीले बरामद गरेको छ।
२०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका उनी नक्कली चालक अनुमति पत्र पेश गरेको प्रमाणित भएपछि २०७५ मा सेवा बर्खास्त भएका थिए।
प्रहरीले हाल शाहीको लुटपाट, आगजनी र सार्वजनिक सम्पत्तिमाथिको क्षतिको विषयमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।



कागजपत्र |
