
सरकारलाई महरको प्रश्न- चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?
डडेल्धुरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस नगर समिति परशुराम डडेल्धुराको आयोजनामा सम्पन्न पार्टीका अगुवाहरूसँगको भेटघाटमा उनले आपतकालीन अवस्थामा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको विषय भएकाले त्यसको कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए। ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो। जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो। आन्दोलनको आदेश पनि त्यही हो। यसबाट सरकार विचलित नहोस्,’ उनले भने।
सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनाव गर्नु भन्ने नै रहेकाले सरकारलाई कत्ति पनि विचलित नभएर त्यसमा थप सक्रियता बढाउन महरले सुझाएका छन्। ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ? यो प्रश्न आमजनताको हो। त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ,’ उनले भने।
राजनीतिक दलहरूसँग संवाद गरेर, देशी-विदेशी मित्रहरूसँग संवाद गर्दै विश्वासमा लिएर, सुरक्षाकर्मीहरूको गुमेको विश्वास बढाएर, जनतामा गुमेको आत्मविश्वास जगाएर सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकारको ध्यान पुग्न नसकेको महरले टिप्पणी गरेका छन्। ‘मतदानमा दलहरूले भाग लिन वातावरण बनाउने र जनतालाई मतदान केन्द्र पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने वातावरण मिलाउने काम सरकारले गर्नुपर्छ। त्यो हुँदा निर्वाचन भइहाल्छ। दलहरूले चुनाव बहिष्कार गर्छौं भनेका छैनौं। हाम्रो माग नै शान्तिपूर्ण र समयमा निर्वाचन होस् भन्ने हो,’ उनले भने।



कागजपत्र |
