चाडपर्वमा राजधानीवासीको सुरक्षाको जिम्मा लिएर फिल्डमै खटीए एसएसपी रमेश थापा


काठमाडौं-  तिहारको रमाइलो र भीडभाडबीच राजधानीमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन महानगरीय प्रहरी प्रमुख एसएसपी रमेश थापा आफैं फिल्डमा खटिएका छन्।

मध्यरातको समय  सडकमा उज्यालो बत्ती, सवारीको आवाज र चाडपर्वको रौनकबीच एसएसपी थापा स्वयंले विभिन्न स्थानको सुरक्षा व्यवस्था निरीक्षण गरेका छन्। सुरक्षाकर्मीको गतिविधि अवलोकन गर्दै जनसाधारणलाई निश्चिन्त वातावरणमा चाडपर्व मनाउन सन्देश दिएका छन्।

फोटोहरूमा देखिएझैं, एसएसपी थापा आफैं मोटरसाइकल चेकजाँचमा संलग्न टोलीलाई निर्देशन दिँदै, सडकमा गस्ती गरिरहेका प्रहरीहरूलाई हौसला दिइरहेका छन्। चाडपर्वका बेला सम्भावित आपराधिक क्रियाकलाप, मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटना र दुर्घटनालाई न्यून पार्ने उद्देश्यले उनले सबै युनिटहरूलाई सतर्क रहन निर्देशन दिएका छन्।

जेनजी आन्दोलनपश्चात प्रहरी संगठनको मनोबल घटेको चर्चा भइरहेका बेला, एसएसपी थापाको यस्तो फिल्ड उपस्थिति र नेतृत्वले प्रहरी संगठनभित्र नयाँ ऊर्जा भरेको छ। प्रहरी प्रमुखको सक्रियता र प्रतिबद्धता देखेर सुरक्षाकर्मीहरू दंग छन्।

“नेतृत्व आफैं मैदानमा उत्रिँदा, बलियो सन्देश पुग्छ। जनता र प्रहरी दुबैलाई,” एक सुरक्षाकर्मीले प्रतिक्रिया दिए।

चाडपर्वको रमाइलोबीच पनि जनसुरक्षामा कुनै समझौता नगर्ने एसएसपी थापाको सक्रियता राजधानीमा सुरक्षित वातावरण निर्माणतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।

 

प्रतिक्रिया