
ललितपुरमा ५० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
काठमाडौं– ललितपुरमा सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो गरिएको विशेष कारबाहीमा भारतको घोरसहन, पूर्वी चम्पारण घर भएका ३१ वर्षीय अभिषेख शेख पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शेखलाई ललितपुर महानगरपालिका–१६ धौगलबाट नियन्त्रणमा लिइएको हो। उनले भारतबाट अवैध रूपमा चाँदी ल्याई विभिन्न गरगहना बनाएर नेपालमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा दक्षिणकाली गण, ललितपुरले अपरेशन सञ्चालन गरेको थियो। पक्राउ परेकासँग ५० किलो ७४ ग्राम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ, १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसिन, इलेक्ट्रीक साइल, आइप्याड र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
अभिषेखलाई बरामद सामग्रीसहित राजश्व अनुसन्धान विभाग, हरिहर भवनमा थप अनुसन्धानका लागि बुझाइएको छ।



कागजपत्र |
