निर्वाचन तयारीमा जुट्ने नेकपा एसकाे निर्णय


काठमाडौं-  नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयले प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ। सोमबार सम्पन्न सचिवालय बैठकले निर्वाचन वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै, पार्टी संरचनालाई निर्वाचन केन्द्रित अभियानमा उन्मुख गराउने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, बैठकले आगामी निर्वाचन घोषित मितिअनुसार निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

निर्णयमा भनिएको छ — “निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताको नाम दर्ता गर्ने कार्य अगाडि बढाइरहेकोले सो प्रक्रियामा सबै नागरिकलाई सहभागी हुन अपिल गरिएको छ। त्यसका लागि पार्टीका सबै तहका कमिटी र जनवर्गीय संगठनलाई सक्रिय रूपमा लाग्न निर्देशन दिइएको छ।”

बैठकले वर्तमान राजनीतिक संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा तथा निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउन लोकतान्त्रिक, गणतान्त्रिक र संविधान पक्षधर शक्तिहरूसँग संवाद र सहकार्य अघि बढाउने पनि निर्णय गरेको छ।

पार्टीले आगामी असोज २९ गते केन्द्रीय समितिको भर्चुअल बैठक आयोजना गरी थप निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया