
जेनजी आन्दोलनमा गोली चलाउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले देशभित्र मात्र नभई विदेशमा रोजगारी वा बसोबासका कारण रहेका नेपालीलाई समेत आगामी निर्वाचनमा सहभागी गराउने सम्भावनाबारे छलफल भइरहेको बताएकी छिन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेबारे निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले जनप्रतिनिधि छनोटको अवसर नहराओस् भन्ने हेतुले सबै नेपालीलाई आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा उत्साहका साथ भाग लिन आह्वान गरिन्। उनले भनिन्, “१८ वर्ष पूरा गरेका सबै युवालाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत कानुनी व्यवस्था मिलाइसकिएको छ।”
त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा गोली चलाइएकाले ज्यान गुमाएका विद्यार्थी तथा युवाहरूको बलिदानलाई न्याय दिने प्रतिबद्धता दोहोर्याइन्। आन्दोलनकारीमाथि गोली चलाउन संलग्न जोसुकै भए पनि कडा कारबाही हुने स्पष्ट सन्देश उनले दिइन्।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र लोकतान्त्रिक मूल्य कायम राख्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै स्वतन्त्र र निष्पक्ष निर्वाचन नै मुलुकको निकास भएको उल्लेख गरिन्। उनले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको समेत जनाइन्।



कागजपत्र |
