निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन सुरु, १६ वर्ष पूरा भएकाले दर्ता गर्न सक्ने


काठमाडौं-  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु गरेको छ। आयोगका अनुसार २१ फागुनमा तोकिएको निर्वाचनअघि अध्यादेशमार्फत कानुनी व्यवस्था मिलाइएपछि नाम दर्ता प्रक्रिया थालिएको हो।

आयोगले जनाएको अनुसार, १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन मिति तोकिएपछि मतदाता नामावली संकलन कार्य स्वतः स्थगित हुने प्रावधान रहेको भए पनि धेरै युवाहरूको नामावलीमा नाम नपरेको भन्दै सरकारले अध्यादेशमार्फत व्यवस्था मिलाएको हो।

यस अभियानअन्तर्गत कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका सबै नागरिकले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। साथै विवाह भई अन्यत्र गएका, बसाइँसराइ गरेका वा विवरणमा त्रुटि भएका मतदाताले स्थानान्तरण र विवरण सच्याउन पनि पाउने व्यवस्था आयोगले गरेको छ।

आयोगले नामावली अद्यावधिक प्रक्रियामा सबै योग्य नागरिकलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

प्रतिक्रिया