
जेनजी आन्दोलनपछि मन्त्री बने कांग्रेसका क्रियाशील सदस्य !
काठमाडौं- जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारमन्त्री नियुक्त भएका पत्रकार जगदीश खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको तथ्य खुलेको छ।
खरेल मन्त्री बनेलगत्तै सामाजिक सञ्जालमा उनी नेपाली कांग्रेसको सदस्य रहेको दाबी गर्दै अनेक पोस्टहरू भाइरल भएका थिए। फेसबुक र एक्स (पहिले ट्विटर) मा उक्त दाबी व्यापक रूपमा सेयर भइरहेका थिए।
नेपाली कांग्रेसको विधानअनुसार सदस्य भएको एक वर्षपछि मात्र आवश्यक योग्यता पुगेको अवस्थामा क्रियाशील सदस्यता प्राप्त गर्न सकिन्छ। सोही आधारमा तथ्य-जाँच गर्दा खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको प्रमाण फेला परेको हो।
नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा बागमती प्रदेश, दोलखा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेश सभा क्षेत्र नं. २, कालिञ्चोक गाउँपालिका–७ को क्रियाशील सदस्य सूचीमा क्रम संख्या १५३ मा जगदीश खरेलको नाम स्पष्ट रूपमा उल्लेख छ।

साथै २०७८ असोज ५ गते ओटीभी नेपालले प्रकाशित गरेको समाचारमा खरेल दोलखाको कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएको उल्लेख छ। त्यस्तै, २०७८ असोज ४ गते ‘नागरिक’ दैनिकमा ‘दोलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार’ शीर्षकको समाचारमा समेत खरेलको फोटोसहित उनी कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेको उल्लेख गरिएको छ।
यस आधारमा सामाजिक सञ्जालमा फैलिएको दाबी सही ठहरिएको छ। सञ्चारमन्त्री खरेल वास्तवमै नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् र २०७८ साल असोजमा कांग्रेसको जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि समेत चुनिएका थिए।



कागजपत्र |
