कुपण्डोल प्रहरी चौकीमा आगजनी र लुटपाट गर्ने पक्राउ


ललितपुर – जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी र लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थान प्रहरी चौकीमा तोडफोड र आगजनीमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ र बैतडी मलौली नगरपालिका–९ घर भई हाल कुपण्डोल बस्ने २४ वर्षीय धीरेन्द्र चन्द रहेका छन्।

उनीहरूले चौकीमा आगजनी गर्नुका साथै प्रहरी पोशाक, हतियार र खाद्यान्नसमेत लुटेको प्रहरीले जनाएको छ। विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरको अध्ययनपछि उनीहरूको पहिचान गरी पक्राउ गरिएको हो।

लुटिएका प्रहरी बर्दी उनीहरूले प्रदर्शनका क्रममा लगाएको खुलेको प्रहरीको दाबी छ।

प्रतिक्रिया