
आज चार नयाँ मन्त्रीको नियुक्ति हुने सम्भावना, क–कसकाे छ चर्चा ?
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज मन्त्रिपरिषद् विस्तार हुने तयारी भएको छ। उच्च स्रोतका अनुसार चार नयाँ मन्त्रीको टुङ्गो लागिसकेको छ।
नयाँ मन्त्रीमा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, इमेज च्यानलका प्रधान सम्पादक जगदीश खरेल र सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल सिन्हाको नाम पक्का भएको हो।
अन्तरिम सरकारले अहिलेसम्म प्रधानमन्त्रीसहित चार सदस्यीय मात्र रहेको छ। जसमा रामेश्वर खनाल अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र यातायात तथा सहरी विकास मन्त्रालय, अनि ओम प्रकाश अर्याल गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा छन्। बाँकी मन्त्रालय हालसम्म प्रधानमन्त्री कार्कीकै मातहतमा रहेका छन्।
प्रधानमन्त्री कार्कीले समाजका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तिलाई नेतृत्व लिन आग्रह गरेकी थिइन्, जसमा केहीले अस्वीकार पनि गरेका थिए। मन्त्रीपरिषद्को कूल सदस्य संख्या ११ भन्दा बढी नहुने स्पष्ट छ।
आजको नियुक्तिसँगै, अनिल सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ।



कागजपत्र |
