जेन–जी आन्दोलनमा कम्ब्याट ड्रेस लगाएका युवकको पहिचान


काठमाडौं –  जेन–जी आन्दोलनमा घुसपैठ भएको आशंका र चर्चाबीच सामाजिक सञ्जालमा भाइरल बनेको एक युवकको पहिचान खुलेको छ। कालो रंगको कम्ब्याट पोशाक र अनुहारमा मास्क लगाएर आन्दोलनकारीबीच देखिएका, हातमा वाकीटकी बोकेका ती युवक ‘हामी नेपाल’ टिमका सदस्य जेनिश महर्जन भएको पुष्टि भएको छ।

हामी नेपाल टिमका संयोजक सुदन गुरुङका अनुसार, भिडमा छिटो सञ्चार र आपत्कालीन सहायताका लागि जेनिशले वाकीटकी बोकेको र सुरक्षाका कारण मास्क लगाएको हो। “त्यस्तो भिडमा जे पनि हुन सक्थ्यो, त्यसैले मेडिकल टिम नजिकै राखेका थियौं। घाइतेलाई मेडिकल टिमसम्म पुर्‍याउन वाकीटकी प्रयोग गरिएको हो,” गुरुङले स्पष्ट पारे।

गुरुङका अनुसार, हामी नेपाललाई जताततैबाट सुरक्षा खतराहरू आउँदै गरेका कारण जेनिशले अनुहार ढाकेका थिए। टिमकै तर्फबाट त्यसरी कम्ब्याट पोशाकमा देखिने व्यक्ति उनीमात्रै भएको उनको भनाइ छ।

सो भिडियो र तस्बिर सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आईटी टिम र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले समेत अनुसन्धान थालेको थियो। अपराध अनुसन्धान कार्यालयले पनि ती युवक ‘हामी नेपाल’ टिमकै सदस्य जेनिश महर्जन रहेको पुष्टि गरेको छ।

जेन–जी आन्दोलनमा ‘हामी नेपाल’ स्वयंसेवकको भूमिकामा थियो। संस्थाले आन्दोलनका क्रममा पानी वितरण गर्ने र घाइतेहरूको तत्काल प्राथमिक उपचारका लागि मेडिकल टिम समेत खडा गरेको थियो।

तर आन्दोलन रोकिएपछि संयोजक सुदन गुरुङ नै आन्दोलनको नेताको रूपमा अघि बढे र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनमा समेत निर्णायक भूमिका खेले।

प्रतिक्रिया