
हमासद्वारा सार्वजनिक ‘बिदाइ तस्बिर’मा विपिन जोशी देखिए
गाजा – इजरायली सेनाले गाजाको ठूलो सहर घेराबन्दी गर्दै आक्रमण तीव्र पारेको बीचमा हमासको सशस्त्र समूह कासम ब्रिगेडले ४८ जना इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक भएको तस्बिरमा नेपालका विपिन जोशीको अनुहार पनि देखाइएको छ।
सामूहिक तस्बिरमा जीवित र मृतक दुवै बन्धकहरू समेटिएका छन्। तस्बिरसँगै ‘रोन अरद’ भनेर क्याप्सन राखिएको थियो, जुन सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका पाइलटलाई संकेत गर्ने गरी लेखिएको हो।
हमासले विज्ञप्तिमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौताका प्रस्ताव अस्वीकार गरेको र सेनापति अयाल जामरले गाजामा ‘विजय योजना’ अघि बढाएको आरोप लगाउँदै यो तस्बिर जारी गरिएको जनाएको छ।
इजरायलले अझै करिब २० जना बन्धक गाजामा जीवित रहेको दाबी गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “२० भन्दा कम मात्र जीवित हुनसक्छन्” भनेका छन्। नेतन्याहू भने बारम्बार सबै बन्धकलाई फर्काउने र हमासलाई नष्ट गर्ने प्रतिबद्धता दोहोर्याइरहेका छन्।
गाजा युद्ध सुरु भएदेखि हालसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका र लाखौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हमासले भने इजरायली बमबारीकै कारण कैयौं बन्धकको ज्यान गएको चेतावनी दिँदै आएको छ।



कागजपत्र |
