
सुशीलाले शपथपछि गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्ने, पहिलो निर्णय– प्रतिनिधिसभा विघटन
काठमाडौं- लामो तानातान र छलफलपछि अन्ततः शीतल निवासमा निर्दलीय सरकार गठन गर्ने र प्रतिनिधिसभा विघटन गर्ने सहमति जुटेको छ।
यस सहमतिअनुसार जेन-जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई साँझ साढे ८ बजे प्रधानमन्त्रीमा नियुक्त गरी शपथ ग्रहण गराइने तयारी भएको छ। शपथपछि उनले गृह मन्त्रालयको नयाँ भवनबाट पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने सहमति बनेको छ।
सरकार गठन र मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू समेत हाजिर भएका छन्। आन्दोलनरत जेनजी पक्ष, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति र सुशीला कार्कीबीचको अन्तिम छलफल केहीबेरअघि टुंगिएको हो।
यद्यपि, कार्की नेतृत्वको मन्त्रिपरिषद् सानो हुने चर्चा भए पनि सदस्यहरूको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। राजधानीमा कर्फ्यु जारी रहेको अवस्थामा वरिष्ठ श्रेणीका कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई शीतल निवास तथा नयाँ प्रधानमन्त्री कार्यालयमा उपस्थित हुन आदेश दिइसकिएको छ।



कागजपत्र |
