
‘रविले जेलबाट बाहिरिँदा देखाएको पत्र आधिकारिक होइन’
रविसहित सबैलाई जेल फर्कन कारागारको सूचना
काठमाडौं – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिँदा देखाएको पत्र आधिकारिक नभएको खुलेको छ ।
लामिछाने २४ भदौको जेनजीको प्रदर्शनको अवसर पारेर कारागारबाट बाहिरिएका थिए । मंगलबार कारागारबाट बाहिरिएका रविले २५ गते आफू जेलबाट बाहिरिँदा कानुनी रुपमै बाहिरिएको स्पष्टीकरण दिँदै गृहसचिवस्तरीय निर्णयबाट थुनामुक्त भएको पत्र श्रीमती निकिता पौडेल लामिछानेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
कारागार प्रशासन सुरक्षाका लागि अन्तिम अवस्थासम्म प्रयास गरेको जनाउँदै कारागारका प्रशासन प्रमुख सत्यराज जोशीले रविको पत्रका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् । जोशीले पत्रको बारेमा लामिछाने पुनः कारागार हाजिर हुँदा त्यसबारे बुझ्ने जनाउँदै त्यो पत्रमा केही पनि नमिलेको समेत जनाएका थिए ।
कारागार प्रशासनले अहिले रविलगायत नख्खुबाट बाहिरिएका सबै कैदीबन्दीलाई कारागारमा पुनः उपस्थितका लागि सार्वजनिक आह्वान गरिसकेको छ ।
उनले ‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुबमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ,’ लामिछानेले भनेका थिए, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।’



कागजपत्र |
