झुम्का कारागारमा त्रास : डेंगी, स्क्रब टाइफस र इन्फ्लुन्जा फैलियो


सुनसरी – चार दिनमै तीन कैदीको मृत्यु भएपछि झुम्का कारागारमा स्वास्थ्य संकट गहिरिएको छ। कारागारमा फैलिएको रोग परीक्षण गर्दा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिएका छन्।

बुधबार कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरी ६३ जनाको रगत परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार तीन रोगकै संक्रमण भेटिएको हो। यस्तै, केहीमा जापानिज इन्सेफ्लाइटिसको आशंका रहे पनि नतिजा आउन बाँकी छ।

जेलर सुवासकुमार लामिछानेका अनुसार सुरुमा भाइरल ज्वरोको शंका गरिए पनि अहिले देखिएका रोगअनुसार उपचारको तयारी भइरहेको छ।

१६ सय क्षमताको झुम्का कारागारमा हाल १ हजार ७९८ कैदीबन्दी रहेका छन्। तीमध्ये ३ सयभन्दा बढी बिरामी परिसकेका छन् भने केही अस्पतालमै उपचाररत छन्।

चिकित्सकका अनुसार स्क्रब टाइफस माइट नामक किरा (मुसामा पाइने) को टोकाइबाट सर्ने रोग हो। उपचारमा ढिलाइ भए ज्यान जाने खतरा हुन्छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो भने इन्फ्लुन्जा संक्रमित व्यक्तिको हाच्छ्यु, खोकाइ वा बोलाइबाट हावामा सर्ने भाइरस हो।

प्रतिक्रिया