
लिपुलेक विवादले ओलीको भारत भ्रमणमा अवरोध !
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यस महिना हुने सम्भावना न्यून भएको भारतीय सञ्चारमाध्यम द प्रिन्टले जनाएको छ। भदौ ३१ गते भ्रमण हुने भनिए पनि समयानुकूल नभएको कारणले भ्रमण स्थगित हुन सक्ने उसले जनाएको छ।
ओलीले ०८१ असार ३० गते प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरे पनि अहिलेसम्म भारतको औपचारिक भ्रमण गर्न सकेका छैनन्। यसै साता उनले चीनको तियाजिनमा आयोजित एससीओ शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छोटकरी भेट गरेका थिए।
नेपाल–भारत–चीन सम्बन्धमा बढ्दो तनावको पृष्ठभूमिमा ओलीको भारत भ्रमणको सम्भावना अझ कम भएको बताइएको छ। नेपालले भारत र चीनले लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्न लागेका घटनामा कडा आपत्ति जनाएको थियो। ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भूभागको रूपमा मान्यता दिनुपर्ने माग राखेका थिए।
नेपालले २०२० मा संविधान संशोधनमार्फत लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटेको थियो। तर, भारतले यसलाई अस्वीकार गर्दै आएको छ। हालै नेपालले जारी गरेको विज्ञप्ति भारतले खारेज गरेको थियो।
ओलीले प्रधानमन्त्री पदमा रहँदा दुई पटक चीन भ्रमण गरिसकेका छन्। पहिलो भ्रमण ०८१ मंसिर १७ गते र दोस्रो यही भदौ १४ गते भएको थियो। यसअघि थाइल्यान्ड र अमेरिकामा भएका बहुपक्षीय बैठकहरूमा ओली र मोदीबीच भेट भएको थियो।
गत चैतमा नेपालमा भएका राजावादी प्रदर्शन र त्यसको पृष्ठभूमि पनि ओलीको भारत भ्रमणमा राजनीतिक संवेदनशीलता थप्ने कारक बनेको छ। यद्यपि थाइल्यान्डमा भएको भेटघाटका क्रममा मोदीले नेपालमा प्रजातन्त्र कायम राख्न भारतको सधैं समर्थन रहने आश्वासन दिएका थिए।



कागजपत्र |
