
सूचीकरणका लागि नआएका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय
काठमाडौं– सरकारले सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार बसेको बैठकले यस निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो। त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नगरेका सामाजिक सञ्जाललाई सात दिनको समय सीमा दिएको थियो। तर सो समयावधिमा केवल पाँचवटा सामाजिक सञ्जाल टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकरणमा आएका छन्।
सरकारले सूचीकरण नभएका र सम्पर्कमा नआएका अन्य २६ वटा सामाजिक सञ्जाल, जसमा फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत समावेश छन्। मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आजदेखि नै यी सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको छ।
स्रोतका अनुसार, सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया अघि बढाएमा क्रमशः खोलिदिने निर्णय गरिएको छ। यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्समा विज्ञापनसहित सामग्री प्रसारण नगर्न र त्यसका लागि कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।
सञ्चार मन्त्रालयले परमादेश कार्यान्वयन गर्दै, विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले नेपालमा सामग्री प्रशारण गर्न अनुमति लिनुपर्ने व्यवस्था लागू गर्दै आएको छ।



कागजपत्र |
