१७०औं दिनमा दिपक थापाको ‘दीप कुञ्ज’बाहेक उपलब्धीबिहीन अवकाश !


मुलुकको सबैभन्दा जनतासँग नजिक रहेको सरकारी संरचना नेपाल प्रहरीको नेतृत्व आज मध्यरातदेखि नयाँ व्यक्तिमा जाँदैछ । आज राती १२ बजेसम्म नेपाल प्रहरीको कमाण्ड सम्हाल्दै गरेका प्रहरी महानिरिक्षक (आईजीपी) दिपक थापाले १७० औं दिनका दिन कुर्ची छाड्दैछन् ।

जागिर सुरु गरेदेखि कर्तव्यप्रति दत्तचित्त र अब्बल रहँदै आम जनताको शान्ति सुरक्षा र संगठनको प्रतिष्ठा उँचो राख्र्दै हरदम कार्यक्षमतामा उत्कृष्ट मानिएका थापा संगठनको ३१ औं आईजीपीका रुपमा चैत ५, २०८१ का दिन कमाण्ड सम्हालेयता गुमनाम प्रायः करिब ६ महिना कटाए ।

यसअघिका आईजीपी नियुक्ति भन्दा कम दौडधूपका साथ कमाण्ड सम्हाल्न पुगेका थापाले जागिरे कालमा फिल्डमा खटिँदा गरेका कार्यको अपेक्षा आम जनता र संगठनका तल्ला तहका कर्मचारीहरुले गरे पनि नेतृत्वमा पुगेपछि उनी त्यसमा नराम्रोसँग चुके । हुन त, उनले समय पाएनन् भन्ने तर्क आउला, तर यो ६ महिनामा केही गर्ने छनकसम्म पनि देखाएनन् ।

संगठनको नेतृत्व सम्हालेको १० दिन नपुग्दै राजधानीमा भएको तीनकुने घटनामा प्रहरीको भूमिकाबाट उनको कार्यशैलीमा ‘छनक’ नदेखिने क्रम यस ६ महिनामा सरुवा, बढुवा, ठेक्का प्रकरणसम्म चलिरह्यो ।

उद्घाटनका लागि दीपक थापालाई नै कुरिरहेको उक्त भवनलाई थापाले ६ महिने कार्यकालमा सधैंका लागि अमेट रहने गरी ‘श्री दीप कुञ्ज’ नाम दिन सफल भए, भलै उक्त कुरा संयोग पनि हुनसक्छ ।

उनी सुरु देखिनै यसअघिका आईजीहरुले पछिल्लो १ महिनामा गर्ने जस्तै उद्घाटन र शिलान्यासका काममा दत्तचित्त रहे । फलस्वरुप नेपाल प्रहरीको हेडक्वार्टरमा निर्माण गरिएको आईजीपी निवासमै आफ्नो नाम लेखाएर त्यसको गतिलो प्रमाण थापाले प्रस्तुत गरे । थापाले निवास परिसरमा उद्घाटन गरेको भवनमा अर्को संयोग पनि जुराएर सधैंका लागि आफ्नो नाम अमेट राख्ने कदम अगाडि सारे । उनले उक्त भवनको नाम नै आफ्नो सुरुको दुई अक्षरबाट सुरु गराउन सफल भए । उद्घाटनका लागि दीपक थापालाई नै कुरिरहेको उक्त भवनलाई थापाले ६ महिने कार्यकालमा सधैंका लागि अमेट रहने गरी ‘श्री दीप कुञ्ज’ नाम दिन सफल भए, भलै उक्त कुरा संयोग पनि हुनसक्छ ।

त्यसबाहेक थापाको कार्यकालमा उपलब्धी खासै भएनन् भन्दा अत्युक्ति नहोला । तीनकुने घटनामा प्रहरीको भूमिका, ठेक्का प्रकरणमा विवाद, सरुवामा चलखेल, संगठनप्रति आफ्नै कर्मचारीहरुको अविश्वास, पूर्व कर्मचारीहरुले संगठनका बारेमा उठाएका प्रश्नहरु थापाको कार्यकालमा चर्चामा रहेका विषयहरु हुन् । त्यो बाहेक पछिल्लो ६ महिनामा प्रहरीले नियमित हुँदै आइरहेको काम बाहेक थप उपलब्धी होला भन्ने आशा अन्ततः थापाको कार्यकालमा निराशामा परिणत भयो ।

हुन त थापासँग आम जनताले धेरै अपेक्षा राखेको पनि हुनसक्छ, जागिरको सुरुवातीदेखि नै कर्मठ, अब्बल र कमाण्डिङ क्षमतामा अब्बल देखिएका थापाले संगठनको कमाण्ड सम्हालेपछि त्यसैअनुरुपको कार्यशैली अपनाउलान् भन्ने तर भएन त्यस्तो । कुनै पनि संगठनको नेतृत्वमा पुगेपछि बाहिरबाट रहँदा जस्तो काम गर्न सकिँदैन होला, त्यसमा थापा पनि अपवाद बन्न सकेनन् । थापाले आफैं संगठनको नेतृत्व गरेपछि सोही अनुरुपको कार्य गर्न नसकेको पनि हुनसक्छ । र, भन्ने कुरा अर्को पनि आउनसक्छ, जम्मा ६ महिनाको अवधिमा के नै गर्न सकिन्छ र ? भन्ने पनि ।

हो, छोटोसमयमा धेरै काम सम्पन्न गर्न नसके पनि केही भए पनि उत्कृष्ट कामको सुरुवात त दिन सक्नुपर्ने हो, त्यो थापा जस्ता अब्बल अधिकृतबाट आम जनताले गर्नु व्यर्थ रह्यो । समग्रमा अन्यको कमाण्डमा उत्कृष्ट ठहरिएका थापाले आँफैं नेतृत्वमा भएपछि भने औषतसम्म पनि पुग्न सकेको भए राम्रो हुनेथियो भन्ने मात्र हो, थापाको अवकाशपछिको जीवन सुखमय रहोस्, उत्कृष्टबाट औषत हुँदै निराशापूर्ण ३० वर्षे जागिरे जीवन सकियो, सामान्य नागरिकको हैसियतमा उनी अब्बल बनुन् ।

अनि २ महिनाका लागि संगठनको कमाण्डर बनेका चन्द्रकुबेर खापुङको कार्यकाल सफल बनोस् शुभकामना ! थापालाई आलोचना गर्नेहरुको मुख बन्द गर्ने काम होस् ।

प्रतिक्रिया