लिपुलेक विवाद : कांग्रेस महामन्त्री शर्माको ६ बुँदे सुझाव


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारतद्वारा अतिक्रमित भूमि लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाउन सरकारलाई तत्काल सर्वदलीय–सर्वपक्षीय बैठक बोलाउन माग गरेका छन्।

हालै भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै व्यापार नाका सञ्चालन गर्ने समझदारी भएपछि नेपालले आपत्ति जनाएको थियो। त्यसलगत्तै भारतले नेपालको दाबी अस्वीकार गर्दै विज्ञप्ति जारी गरेपछि विवाद चुलिएको हो।

शर्माले सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिँदै भनेका छन्, “लिपुलेक नेपालको हो। भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ। सरकार, संसद्, दलहरू र सिङ्गो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ।”

उनले राष्ट्रियताको प्रश्नमा सबै दल र पक्ष एउटै धारमा उभिन जरुरी रहेको बताउँदै ६ बुँदे सुझाव अघि सारेका छन्।

यी हुन् शर्माका ६ सुझाव :
१. सरकारको आह्वानमा तत्काल सर्वदलीय/सर्वपक्षीय बैठक आह्वान ।
२. बैठकमार्फत विकसित घटनाक्रममा ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण ।
३. संसद्ले २०७७ जेठ ३१ गते संविधानको अनुसूची–३ मा पारित गरेको ‘चुच्चे नक्सा’बारे देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४. भारत–चीनबीच २०१५ मे १५ मा भएको लिपुलेक सहमतिको प्रसङ्ग स्मरण गर्दै हालको सहमतिबारे नेपालले पुनः कूटनीतिक नोट पठाउने पहल ।
५. ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिँदै प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश ।
६. नेपाल–भारत सीमा र सम्बन्धबारे दुवै देशको सहमतिमा गठित प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन प्रधानमन्त्रीस्तरमा बुझाई त्यसलाई आधार मानेर समाधान खोज्ने प्रस्ताव ।

शर्माले अनेकौँ फरक राजनीतिक विचार भए पनि राष्ट्रियताको सवालमा सिङ्गो नेपाल एउटै दृष्टि र प्रतिबद्धतामा उभिनु अहिलेको प्रमुख आवश्यकता भएको जोड दिएका छन्।

प्रतिक्रिया