
‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ
कैलाली – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए।
प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको जिकिर थियो।
‘स्वर्ण बिन्दु प्राशन’ हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान हो। यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा यसले सहयोग पुर्र्याउने छ। अर्कोतर्फ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको आजको प्राथमिकता हो। त्यसैले हाम्रा बालबालिकालाई शारीरिक र बौद्धिक रूपमा अब्बल बनाउन स्वास्थ्य मन्त्रालयले निरन्तर कार्य गर्नेछ। ‘आगामी पुस्ता निरोगी पुस्ता’ तयार पार्ने हाम्रो लक्ष्य अनुरुप प्रवर्द्धनात्मक र निरोधात्मक स्वास्थ्य प्रणालीको विकासका लागि आयुर्वेद क्षेत्रसँग जोडिएका यस्ता कार्यक्रमलाई देशैभरका प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।” उनको भनाई थियो।
यसअघि पनि मन्त्री प्रदीप पौडेलले आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकरण र राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकरणका लागि महत्वपूर्ण कदमहरू अघि बढाउँदै आएका छन्।
आयुर्वेद क्षेत्रलाई दिशानिर्देश गर्ने ‘राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति २०८१-२०९१’ स्वीकृत, आयुर्वेदिक औषधि उत्पादनमा आत्मनिर्भर हुन सिंहदरबार वैद्यखानाको पुनर्संरचना थाल्दै यसको दिगोपनाका लागि “प्रथम पञ्चवर्षीय रणनीतिक योजना (२०८२-२०८७)” सार्वजनिक, स्वदेशी औषधीको उत्पादन र गुणस्तर बढाएर निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले ‘औषधीको कुशल उत्पादन अभ्यास संहिता’ को दोस्रो संशोधन जारी, पूर्वाधारतर्फ; बुढानिलकण्ठस्थित ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ मार्फत विशिष्टिकृत सेवा सञ्चालन, ‘आयुर्वेद औषधी नियमावली’ र आयुर्वेदमा नयाँ जनशक्ति व्यवस्थापनका लागि ‘स्वास्थ्य सेवा नियमावली संशोधन’ जस्ता कार्य अघि बढाएका छन् ।
मन्त्री पौडेलको अग्रसरतामा आयुर्वेद र परम्परागत चिकित्सालाई वैज्ञानिक विधि र पद्धति अनुरूप अनुसन्धान गरी राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने नीतिलाई अघि सारेको मन्त्रालयले जनाएको छ।



कागजपत्र |
