
कुवेतमा मृत्यु भएका ४ नेपालीको शव काठमाडौं ल्याइयो
काठमाडौं- कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका चार जना नेपालीको शव नेपाल ल्याइएको छ। नेपाली दूतावास कुवेतका अनुसार ती शव परिवारले बुझिसकेका छन् भने थप एक जनाको शव बुधबार नेपाल पठाउने तयारी भएको छ।
श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अघिल्लो साता केही दिनको अन्तरालमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको ज्यान गएको थियो। उनका अनुसार बाँकी श्रमिकहरूको शव पठाउने प्रक्रिया पनि सुरु भइसकेको छ।
त्यसैगरी अहिले पनि १५ जना नेपाली कामदार कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये १२ जना गम्भीर अवस्थामा आईसीयूमा रहेको आचार्यले बताए।
कुवेतमा मदिरा बेच्न–किन्न प्रतिबन्ध भए पनि लुकीछिपी भइरहेको बिक्रीका कारण नेपाली कामदार प्रभावित भएको दूतावासले जनाएको छ। सो घटनामा संलग्न भएको आशंकामा केही नेपाली पक्राउ परेका समाचार बाहिरिएका छन्।
यता, प्रतिनिधिसभा बैठकमा आज नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा भएको नेपाली कामदारको मृत्युबारे सरकारलाई स्पष्ट जानकारी दिन माग गरेका छन्।
हाल कुवेतमा झण्डै १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ।



कागजपत्र |
