
मनसुनी प्रणाली सक्रिय, बुधबारसम्म वर्षा हुने पूर्वानुमान
काठमाडाैं- भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भई देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मनसुनी न्यून चापीय रेखा सामान्य भन्दा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको आगमन बढ्ने भएकाले वर्षाको गतिविधि तीव्र हुने अनुमान गरिएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि मधेश प्रदेशका धेरै स्थानमा ठूलो पानी पर्न सक्छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र धेरै स्थानमा मध्यम वर्षा हुने संभावना छ। पर्सि बुधवारदेखि प्रणाली पश्चिमतर्फ सर्ने भएकाले बिहीवारसम्म पानी पर्ने अनुमान छ।
पछिल्लो २४ घण्टामा तनहुँको श्याम्घामा ११४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। आज तनहुँ, कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, बारा, कञ्चनपुरलगायतका जिल्लामा ठूलो पानी परेको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशको पहाडी भूभागसहित मधेश र सुदूरपश्चिमको तराई क्षेत्रमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।



कागजपत्र |
