
रवि लामिछानेको थुनामुक्ति निवेदनमाथि बहस सकियो, आदेश आउन बाँकी
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि भएको बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा भएको पेशीको बहस पूरा भइसकेको र आदेश लेखनको प्रक्रिया जारी रहेको अदालत स्रोतले जानकारी दिएको छ।
लामिछाने हाल बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा दोषी सावित भएर गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।
उनी आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्न आफू नै जिम्मेवार बन्न तयार भएको उल्लेख गर्दै, आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए।
उनको निवेदन सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो। बहस सकिए पनि आदेश हालसम्म आएको छैन, रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिएका छन्।
न्यायाधीश सापकोटाको इजलासले लामिछानेको निवेदन सुनुवाइका लागि दोस्रो नम्बरमा पनि मिति तोकेको थियो। निवेदनसँगै उनी आफ्नो ठगी रकमको बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरेका थिए।
सुप्रीम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो, जुन सर्वोच्च अदालतले पनि अनुमोदन गरेको थियो।



कागजपत्र |
