
चितवनमा १५ दिनमा २० जनामा डेंगी संक्रमण पुष्टि
चितवनमा- चितवनमा पछिल्लो १५ दिनमा २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेंगी संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलले जानकारी दिए ।
चालु आर्थिक वर्षको १५ दिनमा सो संख्यामा डेंगीको संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पोखरेलका अनुसार ७ सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगीको संक्रमण देखिएको हो । संक्रमितमध्ये १४ जना चितवनका हुन् भने ६ जना जिल्ला बाहिरका रहेका छन् । भरतपुर महानगरपालिकाका सात, खैरहनी नगरपालिकाका तीन तथा रत्ननगर र कालिका नगरपालिकाका दुई-दुई जनामा डेंगीको संक्रमण देखिएको हो ।संक्रमितमा पाँच पुरुष र नौ महिला रहेको उनले जानकारी दिए ।
वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेंगीको संक्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।



कागजपत्र |
