
प्रधानमन्त्री ओली भन्छन्, ‘दिनैपिच्छे मेरो राजीनामा माग्छन्, माग्दैपिच्छे कसरी दिऊँ ?’
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए पनि आफूले राजीनामा दिने बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै समर्थन फिर्ता लिए राजीनामा आउने बताए।
उनले भने, ‘ए बाबा, हटाउ न त, समर्थन फिर्ता लिइदेऊ न त भन्छु, लिँदैनन्, अनि राजीनमा माग्छन्।’ ओलीले ‘पहिले समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि’ भने।
प्रधानमन्त्री केपी ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताएका हुन्।
‘मेरो राजीनामा दिनैपिच्छे एक–एक वटाले मागेका हुन्छन्, त्यो अखबारले समाचार छाप्छ,’ उनले भने, ‘मेलम्चीको पानी आएको थाहा पाउँदैन।’
ओलीले त्यो अखबारले मेलम्चीको पानी आएको समाचार नदिएको तर आफ्नो राजीनामा मागेको समाचार दिएको बताए।
‘मेरो राजीनामा आज मागेको हो र ? मागेको माग्यै छ त। माग्दैपिच्छे म कसरी दिन सक्छु भनेको ?,’ ओलीले भने।



कागजपत्र |
