प्रहरीलाई आरोपितको तस्बिर सार्वजनिक नगर्न प्रधान कार्यालयको परिपत्र


काठमाडौं- अबदेखि प्रहरी कार्यालयहरूले पक्राउ परेका आरोपितहरूको तस्बिर तथा भिडियो सार्वजनिक गर्न नपाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले ५ साउनमा देशभरका प्रहरी कार्यालयहरूलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

उक्त परिपत्रअनुसार पत्रकार सम्मेलन तथा सञ्चारमाध्यममार्फत सूचना प्रवाह गर्ने क्रममा समेत आरोपितहरूको तस्बिर वा भिडियो सार्वजनिक नगर्न स्पष्ट रूपमा भनिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले पनि परिपत्रको पुष्टि गरेका छन्। उनका अनुसार महान्यायाधिवक्ताको कार्यालयले आरोपितहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।

महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा गरेको निर्णयमा आरोपितहरूको गोपनीयता रक्षा गर्नुपर्ने उल्लेख गरिएको थियो। सोही निर्देशनअनुसार अबदेखि प्रहरीले आरोपितको तस्बिर वा भिडियो सार्वजनिक नगर्ने भएको हो।

तर, कुनै व्यक्ति गम्भीर प्रकृतिको जघन्य अपराधमा संलग्न भएको र तस्बिर वा भिडियो सार्वजनिक नगर्दा समाजमा थप क्षति पुग्ने सम्भावना देखिएको खण्डमा भने अपराध अनुसन्धान विभागको स्वीकृति लिएर सार्वजनिक गर्न सकिने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया