
जंगली च्याउ खाँदा रुकुमपूर्वमा एकै परिवारका चार बिरामी, एक बालकको मृत्यु
रुकुमपूर्व- जंगली च्याउ खाँदा रुकुमपूर्वमा एकै परिवारका चार जना बिरामी परेका छन्, जसमा एक बालकको ज्यान गएको छ। भुमे गाउँपालिका–५ सेराबाङकी ३५ वर्षीया रामकुमारी सुनार र उनका तीन सन्तान साउन २ गते जंगली च्याउ खाएर बिरामी भएका थिए।
बिरामीमध्ये ९ वर्षीया आयुषा विक, ६ वर्षीया भाग्य रेखा विक र ३ वर्षीय योजन विक आमा रामकुमारीसहित सोमबार उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट पुगेका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि मंगलबार उनीहरूलाई थप उपचारका लागि बाहिरी जिल्लातर्फ लैजाने क्रममा रामकुमारी, भाग्य रेखा र योजनको अवस्था अत्यन्त गम्भीर बनेको थियो।
उक्त तीनमध्ये ३ वर्षीय योजनको मंगलबार दिउँसो सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए।
रामकुमारी र भाग्य रेखालाई थप उपचारका लागि दाङ पठाइएको छ भने आयुषाको अवस्था तुलनात्मक रूपमा सामान्य रहेकाले उनको रुकुमपश्चिमको सल्ले अस्पतालमा उपचार भइरहेको डीएसपी यादवले बताए।



कागजपत्र |
