देउवाप्रति असन्तुष्टि चुलियो, शेखर समूहले दियो वारपारको संकेत


काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले पार्टीभित्र आफूहरूलाई निरन्तर पेल्ने प्रयास भए राजनीतिक ‘वारपार’को बाटो रोज्ने निर्णयमा पुगेको छ।

आइतबार काठमाडौंको एक होटलमा बसेको शेखर पक्षीय सांसद र नेताहरूको भेलापछि सांसद डा. सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई कांग्रेसलाई ‘प्राइभेट लिमिटेड कम्पनी’ बनाएर चलाएको आरोप लगाउँदै सम्मान नदिए जे पनि गर्न तयार हुने चेतावनी दिए।

‘अब अधिवेशन र चुनाव आउँदैछ। शेरबहादुरजीले कांग्रेसलाई प्राइभेट लिमिटेड बनाउनु भएको छ। कोशी सरकारमा शेखरजीका मान्छे कोही पनि छैन,’ शर्माले भने, ‘सम्झौता गरेर जान चाहे एक हिसाब, नत्र हामी सुसाइडल हुन्छौं। भिड्न चाहनुभयो भने मर्न तयार छौं।’

उनले पछिल्ला तीन वर्षमा जनताको जीवनमा कुनै उल्लेख्य परिवर्तन नआएको भन्दै पार्टी र सरकार दुवैमा देखिएको प्रवृत्तिको विरोध जनाए। ‘सरकार वा दलको नेतृत्व को हुन्छ भन्नेभन्दा पनि जनताको जीवनस्तरमा सुधार ल्याउने विषयमा हामी गम्भीर छौं,’ शर्माले भने।

पार्टीभित्र बढ्दो असन्तुष्टिपछि शेखर पक्ष सरकारको समीकरण फेरिने गरी विपक्षी दलहरूसँग मोर्चाबन्दीको तयारीमा रहेको छ। यसै सन्दर्भमा आइतबार सो समूहले आफ्ना निकटका मन्त्री र सांसदहरूसँग दुई चरणमा छलफल गरेको हो।

संसदीय दलको नेतासमेत परिवर्तन गर्ने सम्भावनाबारे छलफल भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया