
बौद्धको घरमा आगलागी, एक अशक्त महिलाको मृत्यु
काठमाडौं — काठमाडौंको बौद्धस्थित एक घरमा भएको आगलागीमा परेर एक महिलाको ज्यान गएको छ। मृतक ६५ वर्षीया उर्मिला तामाङको शरीर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार मृतक तामाङ काभ्रेको चौरीदेउराली गाउँपालिका–३ की स्थायी बासिन्दा हुन् र उनी शारीरिक रूपमा अशक्त थिइन्।
आगलागी बौद्धस्थित एक घरको कोठामा भएको थियो। शारीरिक अशक्तताका कारण समयमै बाहिर ननिस्कन सकेकी तामाङ कोठामै थुनिएकी थिइन्, जसका कारण उनी जलेर मृत्यु भएकी हुन्।
प्रहरीका अनुसार आगलागीबाट घरको झ्याल, ढोका र लत्ताकपडासमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।



कागजपत्र |
