
कैलालीमा कान्द्रा नदीले बगाउँदा एक वृद्धाको मृत्यु
कैलाली — कैलालीको घोडाघोडी नगरपालिकामा बुधबार कान्द्रा नदीले बगाउँदा एक वृद्धा महिलाको मृत्यु भएको छ। वडा नं. ४ माघी गाउँकी ७० वर्षीया चुनबुधिया चौधरीको शव नदीले बगाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
प्रहरीका अनुसार बोल्न नसक्ने र राम्रोसँग सुन्न नसक्ने वृद्धा बुधबार बिहान दाउरा खोज्न गएकी थिइन्। त्यसै क्रममा कान्द्रा नदीमा पानीको बहाव बढ्दा उनी बगाएको हुनसक्ने पारिवारिक स्रोतले उल्लेख गरेको छ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार घोडाघोडी–१० स्थित कान्द्रा नदीको पुलभन्दा उत्तरपट्टि तटबन्धन नजिकै खोलाको किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोली घटनास्थल पुगेर शव उद्धार गरेपछि मृतकको परिवारलाई जानकारी दिइएको थियो। परिवारका सदस्यले शवको सनाखत गरेपछि मृतकका छोरा रामकृष्ण चौधरी इलाका प्रहरी कार्यालयमा पुगेका छन्।
शव पोष्टमार्टमका लागि बर्दगोरिया अस्पताल पठाउने तयारी भइरहेको प्रहरी प्रमुख अवस्थीले जानकारी दिए।



कागजपत्र |
