
रास्वपाको टिप्पणीपछि परराष्ट्रको स्पष्टिकरण: भ्रमपूर्ण प्रचारप्रति सजग रहन आग्रह
काठमाडौं — परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणसम्बन्धी केही भ्रामक र आधारहीन सामग्रीहरूमा विश्वास नगर्न आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले संसद बैठकमा प्रधानमन्त्री ओली सहभागी कार्यक्रममै गएका केही नेपाली नफर्किएको भन्दै टिप्पणी गरेपछि मन्त्रालयले स्पष्टिकरण जारी गरेको हो।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ।” मन्त्रालयले भ्रमणसम्बन्धी विस्तृत विवरण पहिले नै परराष्ट्र मन्त्रालय र अन्य आधिकारिक स्रोतबाट सार्वजनिक भइसकेको जानकारी पनि दिएको छ।
प्रधानमन्त्री ओलीले गत ३० जुनदेखि ४ जुलाई २०२५ सम्म स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “सम्मेलनमा नेपालको सहभागिता, विभिन्न सत्रहरूमा नेपालको सक्रिय भूमिका र योगदान, साथै द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र उपलब्धिहरू पहिले नै सार्वजनिक भइसकेका छन्।”
परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण प्रचारप्रति सतर्क रहन सबैलाई अनुरोध गर्दै भनेको छ, “सर्वथा भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ।”
त्यस्तै, मन्त्रालयले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सहभागिता नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रहित र मितव्ययिताका आधारमा हुने गरेको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार सम्मेलनमा सहभागी सम्पूर्ण नेपाली प्रतिनिधिमण्डल सदस्यहरू हाल स्वदेश फर्किइसकेका छन्।



कागजपत्र |
