युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित ललितपुरमा ईभी स्कुटर वितरण सुरु


काठमाडौं- युवालाई स्वरोजगार बनाउने उद्देश्यले ललितपुरको भैंसेपाटीबाट राइडर लक्षित विद्युतीय स्कुटर (ईभी) वितरण योजना सुरु गरिएको छ। ‘तपाईँको बजार’, ‘ई-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को सहकार्यमा शनिबार आयोजित कार्यक्रममा पहिलो चरणमा छनोट भएका राइडरलाई स्कुटर हस्तान्तरण गरिएको हो।

कार्यक्रममा ई-ड्राइभले राइड सेयरिङ प्लेटफर्म सञ्चालन गर्ने, ‘तपाईँको बजार’ले वित्तीय तथा फ्लीट व्यवस्थापन हेर्ने र परिमिता ग्रुपले स्कुटर आपूर्ति तथा व्यवस्थापनको जिम्मेवारी लिएको जनाइएको छ। ई-ड्राइभसँगै राइडरले अर्को राइड सेयरिङ कम्पनी ‘याङ्गो’ समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले योग्य र इच्छुक राइडरलाई पहिलो चरणमा स्कुटर वितरण गरिएको जानकारी दिए। उनले सुरुवातमा प्रदान गरिएको निःशुल्क अफरले राइडरलाई स्वरोजगारमा लाग्न सहज हुने विश्वास व्यक्त गरे।

कम्पनीका सीईओ सबिन भट्टराईका अनुसार राइडरहरूले शनिबारदेखि नै स्कुटर चलाउन सुरु गरेका छन्। भट्टराईले पर्याप्त आम्दानी नभएमा कम्पनीले आफैँ व्यापार दिनेसमेत ग्यारेन्टी गरेको जानकारी दिए। यसका लागि ‘याङ्गो’सँग सहकार्य गरिएको हो।

आयोजकका अनुसार योजनाले आयातित इन्धनमाथिको निर्भरता घटाउने, स्वदेशी विद्युत् खपत बढाउने र हरित यातायात प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। साथै, यसले नेपाली युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रेरणा दिनेछ।

राइडरका लागि दुई मोडेलमा स्कुटर उपलब्ध गराइनेछ, रेन्टल (दैनिक भाडा) र मासिक तलब। रेन्टल मोडेलमा प्रतिदिन करिब ७०० देखि १००० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने तलब मोडेलमा न्यूनतम सरकारी तलबसहित मासिक २०–२५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिनेछ।

प्रतिक्रिया