शशांक कोइरालाको प्रस्ताव: ‘धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ’


काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संविधानमा रहेको धर्मनिरपेक्षताको प्रावधान हटाएर त्यसको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले वर्तमान सत्ता गठबन्धनको समझदारी अनुसार संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

कोइरालाले भने, “यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो। पहिलो संशोधन यही होस् — धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौं।”

उनले सत्तारूढ दलहरू कांग्रेस र एमालेबीच १७ असारमा भएको ७ बुँदे समझदारीको कार्यान्वयन जरुरी भएको भन्दै संविधान संशोधनका विषयमा ठोस काम सुरु हुनुपर्ने धारणा राखे।

त्यस्तै, कोइरालाले वर्तमान निर्वाचन प्रणालीले मुलुकमा स्थायित्व दिन नसकेको भन्दै प्रणाली परिवर्तनको प्रस्तावसमेत अघि सारे। “राष्ट्रिय सभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस्,” उनले तर्क गरे।

उनका अनुसार हालको निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत दिन सक्दैन, जसले राजनीतिक अस्थिरता निम्त्याइरहेको छ।

प्रतिक्रिया