
चिकित्सक संघको आन्दोलन: सोमबार आकस्मिक बाहेकका सेवा बन्द हुने
काठमाडौं- नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो फैसलाको विरोधमा सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।
स्वास्थ्य संस्थामा लापरबाही भएको भन्दै उपभोक्ता अदालतले चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिर्न आदेश दिएपछि त्यसविरुद्ध संघ आन्दोलित बनेको हो। चिकित्सक संघले अदालतको निर्णयलाई चिकित्सकीय अभ्यासमाथिको हस्तक्षेप भनेको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार आफ्ना मागहरूबारे जानकारी गराउन संघले शुक्रबार नै देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाइसकेको छ।
यस्तै, आन्दोलनको क्रमबद्ध कार्यक्रमअन्तर्गत आइतबार सबै चिकित्सकहरूले कार्यस्थलमा एक घण्टा धर्ना दिने र साउन २४ गते नेपाल मेडिकल काउन्सिलमा आफ्नो प्रमाणपत्र बुझाउने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सक संघको यस आन्दोलनलाई स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य ९ वटा संघसंस्थाले समेत समर्थन जनाएका छन्।



कागजपत्र |
