बीपी राजमार्गमा थप १ महिना राति यात्रुवाहक सवारी चलाउन रोक


काभ्रेपलाञ्चोक-  बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनमा आगामी एक महिनासम्म रोक लगाइएको छ।

यसअघि असार ७ गतेदेखि १५ दिनका लागि लगाइएको प्रतिबन्ध अब असार २२ गतेदेखि एक महिनाका लागि थप गरिएको हो। राति ६:३० बजेपछि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लागु हुने जनाइएको छ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णय अनुसार राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुली जाने मार्गमा यो प्रतिबन्ध लागु हुनेछ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार सक्रिय मनसुनका कारण कुनै पनि बेला बाढी वा पहिरोको जोखिम हुनसक्ने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको हो।

यस्तै, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सवारीमा रातिको समयमा रोक लगाउने निर्णय सार्वजनिक गरेको छ। प्रशासकीय अधिकृत प्रविण कटुवालद्वारा जारी सूचनामा असार २१ गते साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्मको लागि रोक लागु गरिने उल्लेख गरिएको छ।

यसअघि काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समन्वय समितिको बैठकले अस्थायी रूपमा १५ दिनको लागि रातिको आवागमन रोक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया