
खोरमा थुनिएर दिन बिताउँछन् १० वर्षीय पवन
पाल्पा – पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुरका १० वर्षीय पवन कुमाल विगत एक वर्षदेखि फलामको खोरभित्र थुनिएर दिन बिताउँदै आएका छन्। मानसिक र शारीरिक रूपमा अशक्त पवनलाई परिवारले सुरक्षा कारण दिँदै बिहानदेखि साँझसम्म खोरभित्र राख्नुपरेको बताएको छ।
पवनका आमा पूर्णमाया कुमालका अनुसार पवन जन्मँदै अशक्त छन्। झोलुङ्गोमा राखेर घरमै राख्ने कोसिस गरे पनि घस्रिँदै घरबाट बाहिर निस्किने, फर्किन नसक्ने र सडक दुर्घटनाको डरले उनीहरू बाध्य भएर फलामको खोर बनाउनु परेको हो।
पवनका जुम्ल्याहा भाइ पविन भने नवदुर्गा माविमा कक्षा ६ मा अध्ययनरत छन्। आमाले भाइलाई विद्यालय पठाउँदा पवनलाई खोरभित्र राखेर काम गर्न जानुपर्ने अवस्था आएको बताउँछिन्।
पवनको उपचारका लागि परिवारले विभिन्न प्रयास गरेको हो। एक वर्षको उमेरमा बनेपास्थित अपांगता अस्पतालमा खुट्टाको उपचार गराउँदा केही सुधार देखिएको थियो। तर, त्यसको केही समयमै मुटुमा समस्या आएपछि गङ्गालाल अस्पतालमा शल्यक्रिया गरियो।
मुटुको शल्यक्रिया निःशुल्क भए पनि खुट्टाको उपचार र अन्य खर्चमा परिवारले हालसम्म ९ लाखभन्दा बढी खर्च गरिसकेको छ। मस्तिष्कको शल्यक्रिया समेत आवश्यक रहेको जनाउँदै परिवारले अझै ७ लाख रुपियाँ जुटाउन नसकेको बताएको छ।
पवनका बुबा कृष्णबहादुर कुमाल खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन्। उनीको कमाइबाट अन्य तीन जना परिवारको खर्च धानिँदै आएको छ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पवनको उपचार कुनै अस्पतालले लिने हो भने नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।



कागजपत्र |
