
प्रेमीका लागि पतिको हत्या, ४० दिनपछि घटनाको खुलासा
काठमाडाैं- भारतकाे पश्चिम बङ्गालस्थित हुगली जिल्लाको चन्दीतला गाउँबाट एक मुटु हल्लिने घटना बाहिर आएको छ। त्यहाँका ३२ वर्षीय रबिन रुइदास नाम गरेका युवकको हत्या उनकी पत्नी अपर्णा रुइदासले प्रेमीसँग मिलेर गरेकी छिन्। अपर्णाले आफ्ना परिवारका सदस्यहरूसँग मिलेर शवलाई आफ्नै माइतीघर नजिकको ७ फिट गहिरो खाल्डोमा गाडी दिएकी थिइन्।
घटनाबारे प्रहरीले दिएको जानकारी अनुसार रबिन ११ मेमा श्रीमती अपर्णा र दुई छोराछोरीलाई भेट्न ससुराली गएका थिए। तर त्यसपछि उनी फर्किएनन्। दुई दिनसम्म सम्पर्क नभएपछि परिवारले १३ मेमा हराएको उजुरी दर्ता गराएको थियो।
२३ जूनमा रबिनका दाजु बब्लु रुइदासलाई एउटा अनजान नम्बरबाट फोन आयो। सो व्यक्तिले अपर्णाले रबिनको हत्या गरेर शव गाडेको खुलासा गरेपछि घटनाले मोड लियो। बब्लुले तुरुन्तै जांगीपारा प्रहरीमा विस्तृत उजुरी दिए।
प्रहरीले अपर्णा, उनका बुबा जयदेब, दाजु अभिजित र बहिनीको श्रीमान प्रदीप पात्रालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले गल्ती ढाकछोप गर्न प्रयास गरे पनि कडा सोधपुछपछि अपराध स्वीकार गरेका छन्।
प्रहरीका अनुसार अपर्णाले बाख्रा बाँध्ने डोरी प्रयोग गरेर रबिनको घाँटी थिचेकी थिइन्। प्रहरीले हत्या गर्न प्रयोग गरिएको डोरी पनि बरामद गरेको छ। शव माइतीघरबाट करिब आधा किलोमिटर टाढा एक ट्युबवेल नजिकै गाडिएको अवस्थामा फेला परेको हो।
रबिनको भाउजु शिखा रुइदासका अनुसार अपर्णाको अर्कैसँग प्रेम सम्बन्ध थियो। रबिनले पत्नीलाई निकै माया गर्थे र छोराछोरीको लागि सम्बन्ध जोगाउन खोजिरहेका थिए।
चारै जना अभियुक्तलाई सेरामपुर सब-डिभिजनल अदालतमा पेश गरी ४ दिनको प्रहरी हिरासतमा पठाइएको छ।



कागजपत्र |
