
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
कैलाली – कैलाली कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराका हरिश सिंह पालीको मृत्यु भएपछि घटना छानबिन गर्न सात सदस्यीय समिति गठन गरिएको छ। छानबिन प्रक्रिया अघि बढेपछि मृतक पक्षले थालेको आन्दोलन हाललाई स्थगित गरिएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक हवलदार तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोक राज भट्ट सदस्य रहेका छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।
डडेल्धुराकाे भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली बैंकिङ कसुर मुद्दामा पक्राउ परेका थिए। असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा भेटिएका उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ सोही रात उनको मृत्यु भयो।
शरीरमा चोटपटक देखिएकाले मृतकका परिवारले हत्या भएको शंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले शव बुझ्न मानेका छैनन्।
यही घटनाको विरोधमा डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार राजमार्ग र बजार बन्द गरिएको थियो। तर छानबिन समिति गठन भइसकेको, किटानी जाहेरी दर्ता भएको र केन्द्रबाट पनि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)काे टोली आउने सहमति जुटेपछि संघले आकस्मिक बन्द कार्यक्रम स्थगित गरेको जनाएको छ।
संघले दोषी पक्राउ गरी कानुनी कारबाही नभएसम्म आन्दोलनको कार्यक्रम पुनः सुरु गर्ने चेतावनी दिएको छ।



कागजपत्र |
